दशैँको सातौँ दिन आज फुलपाती

211
Friendship Mobile

आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नौ वटा देवीको प्रतीकका रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

फूलपाती भित्र्याएपछि नौवटा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि गौतमले जानकारी दिनुभयो । आजैका दिनदेखि दशैं बिदा पनि सुरु भएको छ ।

दशैँको पाँच दिन बिदा हुने गरेकाले सरकारी कार्यालय पनि आजबाट बन्द हुन्छ ।