कोरोना संक्रमण काठमाण्डौमा स्थिर, गाउँगाउँमा बढ्दो

193
Friendship Mobile

काठमाडौँ । एक सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या स्थिर छ। दुई साताअघिको तुलनामा घटेर २ हजार ५ सयजनाको सेरोफेरोमा संक्रमण चक्र घुमिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।उपत्यकामा शनिबार २ हजार ३ सय २० जना, शुक्रबार २ हजार ४ सय २७, बिहीबार २ हजार २ सय ३२, बुधबार २ हजार ४ सय ८६, मंगलबार २ हजार ५ सय २३ नयाँ संक्रमित थपिएका थिए। उपत्यकाको मात्र तथ्यांकलाई विश्लेषण गर्दा भक्तपुर र ललितपुरको तुलनामा काठमाडौंमा चौगुना बढी संक्रमित थपिएका छन्।एक सातायता संक्रमणको चक्र उपत्यकाबाहिरका गाउँगाउँमा तथा एक प्रदेशबाट अर्को प्रदेशमा बढेर गएको मन्त्रालयको तथ्यांकले औंल्याएको छ। दुई साताअघिसम्म वाग्मती, लुम्बिनी र गण्डकीमा तीव्र रूपमा फैलिएको संक्रमण अहिले सुदूरपश्चिम, प्रदेश १ र २ मा बढ्दो क्रममा छ। त्यसैगरी सहरमा घरपरिवारभित्रै र गाउँमा समुदायमै कोरोना संक्रमण फैलिने क्रम जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ।‘अहिले संक्रमण वाग्मती र लुम्बिनी प्रदेशमा घट्दै गएको तर प्रदेश १, २ र सुदूरपश्चिम प्रदेशमा बढ्दै गएको छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने। गाउँमा संक्रमण बढ्दा उपचारमा प्राविधिक हिसाबले कठिनाइ हुने भएकाले क्षति बढ्न सक्ने उनको आँकलन छ।